Rule 12
कुटनीतिक राहदानी जारी गर्न सक्ने
(१) नियम १०मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका व्यक्तिले सरकारी काम वा विशेष कामको लागि विदेश भ्रमणमा जान सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयको सिफारिस सहित कुटनीतिक राहदानी माग गरेमा विभागले कुटनीतिक राहदानी जारी गर्नेछ: -

(क) पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष,

(ख) पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष; व्यवस्थापिका-संसदका पूर्व सभामुख,

(ग) पूर्व परराष्ट्रमन्त्री ।

(२) उपनियम (१) बमोजिम कुटनीतिक राहदानी लिएका व्यक्तिसँग सोही कार्यक्रममा निजको पति बा पत्नी समेत सहभागी हुने भई निजको नाममा कुटनीतिक राहदानी जारी गर्न सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिबालयबाट सिफारिस भएमा बिभागले त्यस्तो पति बा पत्नीको नाममा कुटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(३) नियम १० बमोजिम कुटनीतिक राहदानी पाउने पदाधिकारीको पति वा पत्नीलाई कुटनीतिक राहदानी प्राप्त व्यक्ति सहभागी हुने कार्यक्रममा निमन्त्रणा भई सहभागी हुने व्यहोरा खुलाई कुटनीतिक राहदानी प्राप्त पदाधिकारी कार्यरत मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट सिफारिस भएमा विभागले त्यस्तो पति वा पत्नीको नाममा कुटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(४) संयुक्त राष्ट्र सङ्घ वा सोको विशिष्टीकृत निकाय, एसियाली विकास बैङ्क लगायत नेपाल सदस्य रहेको अन्य अन्तरसरकारी संघ संस्थामा सहायक महासचिव वा सो सरह वा सोभन्दा माथिको पदमा कार्यरत नेपाली नागरिक र निजको पति वा पत्नीलाई विभागले कुटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(५) यस नियमावलीमा अन्यत्र: जुनसुकै कुरा लेखिएको भए तापनि कार्यक्रमको महत्व, कार्यक्रममा सम्बन्धित व्यक्तिको सहभागिताको सान्दर्भिकता, मुलुकको हितका लागि सम्बन्धित व्यक्तिले खेल्न सक्ने भूमिका तथा राष्ट्रिय जीवनमा निजको योगदान समेतको आधारमा कुनै व्यक्ति वा पदाधिकारीलाई कुटनीतिक राहदानी दिने गरी नेपाल सरकार, मन्त्रिपरिषदबाट निर्णय भएमा विभागले त्यस्तो व्यक्ति वा पदाधिकारीको नाममा कुटनीतिक राहदानी जारी गर्न सक्नेछ ।

(६) यस नियमावली वमोजिम कुटनीतिक राहदानी लिई विदेशमा कार्यरत रहेको व्यक्ति कार्यरत रहेकै समयमा निजको पदावधि समाप्त हुने रहेछ भने विभागले निज अवकाश हुने मितिमा बढीमा छ महिना थप गरी निज र निजको परिवारको नाममा कुटनीतिक राहदानी जारी गर्न सक्नेछ ।